२५ पौष, काठमाडौं । कोशी प्रदेश सरकारको लगानी सम्मेलन बैशाख तेस्रो साताका लागि सारिएको छ ।
आगामी माघ ११ गतेदेखि १३ गतेसम्म गर्ने भनिएको सम्मेलन तीन महिनापछि धकेलिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलन बैशाख १८ देखि १९ गतेमा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । परियोजनाहरूको सोकेसिङ, कानुन संशोधन र खरिद प्रक्रियाका लागि समय आवश्यक भएकाले लगानी सम्मेलनको मिति सारिएको मन्त्री भण्डारीले बताए । केही कानुन र नीति संशोधनका लागि केन्द्र सरकारको सहयोग पनि आवश्यक रहेको उनको भनाइ छ ।
कोशी प्रदेश सरकारले करिब १ खर्ब रुपैयाँको लगानी भित्र्याउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सम्मेलनको तयारी भइरहेको छ । यसका लागि विभिन्न समितिहरू र सचिवालय गठन भइसकेको छ ।