|  

प्रचारको बाढी ल्याउन अनेरास्ववियुलाई ओलीको निर्देशन

२५ पौष, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थी संगठन अनेरास्ववियुलाई प्रचारको बाढी ल्याउन निर्देशन दिएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित अनेरास्ववियुको कार्यशालामा उनले सामाजिक सञ्जालमा आक्रामक शैलीमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । उनले पत्रपत्रिकामा आएको कुरामा  ध्यान नदिई हातमा भएको मोबाइलबाट प्रचार गर्न भनेका छन् । उनले भने,‘पत्रपत्रिकामा के आयो भने छाडिदिनुस, युट्युबमा के आयो भनेर छोडिदिनुस । अनेरास्ववियुको प्रचारको समुन्द्र, बाढी बगाउनुस न, मोबाइलमा । अरू चाहिँदैन, अनेरास्ववियुको आवाजले नै धान्छ ।’ 

उनले मोबाइलबाट आएको आवाजले प्रचार अभियान यस्तो हुँदोरहेछ भनेर दुनियालाई आश्चर्य चकित बनाउन निर्देशन दिए । उनले फागुन १५ गते हुने स्ववियु निर्वाचनमा जितको शुभकामना दिए । अनेरास्ववियुले हार्न नजानेको दाबी गरे । उनले एमालेमा युवा छैनन् भन्ने प्रचारको जवाफ निर्वाचनले दिनुपर्ने बताए ।