२६ पुस, काठमाडौं । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटना रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ ।
एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ तर, नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेसी दुख्ने र छालामा ठूला फोका जस्ता घाउ निम्त्याउँछ र यो घातक हुनसक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र प्रजातान्त्रिक गणतन्त्र कंगो डीआरसीमा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो । कंगोमा यसले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।
डब्लूएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी ६ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपोक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो । चिनियाँ स्वास्थ्य अधिकारीहरूले बिहीबार एमपक्स स्ट्रेन क्लेड १बी को समूहगत प्रकोप फेला परेको बताए । यसको संक्रमणको स्रोत डीआरसीमा बसोबास गरेको रेकर्ड भएको व्यक्ति भएको विश्वास गरिएको छ ।
बिरामीसँग नजिकको सम्पर्क भएका चार व्यक्ति यस स्ट्रेनबाट संक्रमित भएको पाइएको र उनीहरूमा डाबर र फोकाको अपेक्षाकृत हल्का लक्षणहरू देखिएको चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले विज्ञप्तिमा बताएको छ ।