|  

ट्रम्पले पूर्वपोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा अदालतले आज निर्णय सुनाउँदै

२६ पुस, काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा आज निर्णय सुनाउँदै छ ।

पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा ट्रम्पविरुद्ध आज अदालतले निर्णय सुनाउन लागेको हो ।ट्रम्पले त्यसलाई रोक्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ ।

सजायँ सुनाउने निर्णय रोक्नुपर्ने ट्रम्पको अनुरोधलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा बहस हुँदा अदालतका न्यायाधीशहरुले बहुमतको आधारमा नस्वीकार्ने निर्णय गरेका हुन् । ५ जना न्यायाधीशले सजायँ सुनाउनुपर्ने र ४ जनाले सजायँ सुनाउन नहुने पक्षमा मत व्यक्त गरेका बीबीसीले जनाएको छ ।

अब अदालतले ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे अदालतबाट निर्णय हुने बताइएको छ । सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।

त्यसपछि यो विषयमा उनलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । यो कसुरमा ट्रम्प दोषी ठहरिएका थिए । ट्रम्पले भने उक्त आरोप अस्वीकार गर्दै आफूले गलत काम नगरेको जिकिर गर्दै आएका छन् ।