२६ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन विवरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुझाएका छन् ।
घिसिङले बिहीबार गत आर्थिक वर्षमा सम्पादन गरेका काममा मूल्याङ्कनका लागि मन्त्रालयमा ९८ दशमलव ९९ प्रतिशत अङ्क दाबीसहित विवरण पेस गरेका हुन् ।
उनी ०७८ साउन २५ गते मन्त्रिपरिषद्को निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका निम्ति दोस्रो पटक नियुक्त भएका थिए ।
आव २०७८/७९ र २०७९/८० को कार्यसम्पादनमा उनले क्रमशः ९४ दशमलव २३ र ९८ दशमलव ९४ प्रतिशत अङ्क पाएका थिए । कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।