|  

बढ्दो आयातले विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचक घट्न थाल्यो

२६ पौष, काठमाडौं । पछिल्लो समय बढेको आयातले विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचक घट्न थालेको देखिएको छ ।

अहिले कायम रहेको सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । अघिल्लो महिना रहेको सञ्चितिले १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले विदेशी मुद्रा सञ्चिति पौने २३ खर्ब रुपैयाँ पुगेको छ । मंसिर मसान्तमा यस्तो सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो भने कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । यो महिना सञ्चिति जम्मा १८ अर्ब रुपैयाँ मात्रैले बढेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको २० खर्ब ३३ अर्ब २७ करोड रहेको छ । असार मसान्तमा यो १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४० अर्ब रुपैयाँ सञ्चिति छ । असार मसान्तमा यस्तो सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।