|  

गाजामा मारिने संख्या रिपोर्ट गरिएभन्दा धेरै नै बढीः अध्ययन

 २७ पुस, काठमाडौं । हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकभन्दा पनि धेरै प्यालेस्टिनीले गाजामा ज्यान गुमाएको एक अध्ययनले देखाएको छ ।

द लानसेन्ट मेडिकल जर्नलमा प्रकाशित अध्ययनले यो दाबी गरेको हो । बेलायतको नेतृत्वमा गरिएको यो अध्ययनमा सन् २०२३ को अक्टोबर ७ मा हमास विद्रोहीले इजरालयमा आक्रमण गरेपछिका ९ महिना अवधि समावेश छ ।

यस अध्ययनमा हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क, परिवारले आफन्त गुमाएको अनलाइन सर्भे र ओबिचुरीलाई आधार बनाइएको थियो ।अध्ययनमा ३० जुन २०२४ सम्म ६४ हजार २६० प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ ।

यो आधिकारिक तथ्यांकभन्दा ४१ प्रतिशतले बढी हो ।बेलायतमा रहेको इजरायली राजदूतावासले गाजाबाट प्राप्त कुनै पनि तथ्यांकलाई विश्वास गर्न नसकिने र यसले हमासलाई फाइदा पुर्‍याउने टिप्पणी गरेको छ ।

तर, संयुक्त राष्ट्रसंघले मन्त्रालयको तथ्यांकलाई नै आधिकारिक मान्ने गरेको छ । मन्त्रालयको तथ्यांकमा हमास विद्रोही र सर्वसाधारण भनेर छुट्टाइएको हुँदैन । तर, राष्ट्रसंघको हालैको एक रिपोर्टमा ६ महिनामा मारिने अधिकांश महिला र बालबालिका रहेको उल्लेख गरिएको थियो ।