|  

पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैनः राष्ट्रपति पौडेल

२७ पुस, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेश अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका छन् ।

‘पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ,’ राष्ट्रपति पौडेलले राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार एक सन्देश जारी गर्दै भने ‘यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ। स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन।’