|  

जुम्लामा लगभग ९ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइँदै

२७ पौष, काठमाडौं । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले विद्यार्थीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनाएको छ ।

जुम्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको हो । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत त्यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब ८ हजार ८ सय २९ छात्रालाई उक्त खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ ।

देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ ।

विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।