|  

थर्ड पार्टी तथ्य-जाँच प्रणाली हटाउने मेटाको निर्णयमा प्रयोगकर्ता असन्तुष्ट

२७ पौष, काठमाडौं । मेटाले थर्ड पार्टी तथ्य-जाँच प्रणाली हटाउने र कन्टेन्ट मोडेरेसेसन (सामग्री निगरानी) नीति खुकुलो पार्ने निर्णय गरेको छ ।

कम्पनीको यो कदमलाई लिएर प्रयोगकर्ता गुगलमा फेसबुक, इन्स्टाग्राम र थ्रेड्स कसरी डिलिट गर्ने भन्ने विषय अत्यधिक खोज्न थालेका छन । मेटाको यस निर्णयप्रति आक्रोशित केही प्रयोगकर्ताले मेटाका सीईओ मार्क जुकरबर्गलाई ट्रम्प प्रशासनसँग नजिक हुने प्रयास गरेको आरोप लगाएका छन । यसले कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्मलाई गलत सूचना र ध्रुवीकरणयुक्त अभिव्यक्तिको थलो बनाउने खतरा बढाएको भन्दै मानिसहरू आक्रोशित छन ।

साथै जुकरबर्गले कम्पनीका तेस्रो-पक्ष तथ्य/जाँचकर्ताहरूलाई ‘राजनीतिक रूपमा धेरै पक्षपाती’ भन्दै आफ्नो ‘स्वतन्त्र अभिव्यक्ति’को दृष्टिकोणसँग मेल नखाएको भन्ने अभिव्यक्ति दिएपछि उनी थप आलोचनाको केन्द्रमा परेका हुन । यसैलाई लिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि फेसबुक, इन्स्टाग्राम र थ्रेड्स डिलिट गर्ने तरिका सिकाइरहेका छन । यसै पनि पछिल्लो समय टिकटककै लहलहैमा लागेको भन्दै मेटाका एल्गोरिदमप्रति मानिसहरू असन्तुष्ट छन् ।