|  

पत्रकारिताको विकासले मात्रै देशमा पारदर्शिता सुनिश्चित गर्न सक्छः स्वास्थ्यमन्त्री पौडेल

२७ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले मात्रै पारदर्शितालाई सुनिश्चित र भ्रष्टाचारलाई न्यूनीकरण गरी सुशासन सुनिश्चित गर्नसक्ने बताएका छन् ।

नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्यसँगको भेटमा मन्त्री पौडेलले यस्तो धारणा राखेका हुन । उनले भनेका छन्,‘पत्रकारिताको विकासले मात्रै देशमा पारदर्शिता सुनिश्चित गर्न सक्छ, देशमा हुने गरेका भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न सक्छ । पत्रकारको अधिकार र सुनिश्चिताता रक्षाका निम्ति राज्यको पहल जरुरी छ ।’

सोही क्रममा मन्त्री पौडेलले शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको अस्पताल बनाउन पूर्वाधार र उपकरण सहयोग गर्ने सम्झौता भइसकेको जानकारी दिए । भारत सरकारले उपचार केन्द्रलाई उपकरणसहित सहयोग गर्ने भन्दै उनले भारतीय स्वास्थ्य मन्त्रालयमा योजना पुगेको र अबको केही दिनमा द्विपक्षीय सम्झौता हुने बताए । उनले दमौली अस्पतालको विकासका लागि जग्गा विवाद समाधानका निम्ति अबको मन्त्रिपरिषद् बैठकमा छलफल अगाडि बढाउने प्रक्रिया भएको जानकारी दिए ।