|  

पार्टीबाट निकाल्दैमा आफ्नो लडाइँ कमजोर हुँदैनः भीम रावल

२७ पौष, काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता भीम रावलले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको आफ्नो लडाइँ कमजोर नहुने दाबी गरेका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले आज काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग उनले देशभक्तिको झन्डा माथि उठाउने उत्साहमा कमी नहुने बताएका हुन् । तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको आरोप लगाउँदै उनले एमाले नेतृत्वको स्वेच्छाचारी, राष्ट्रिय हितविपरीतका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको बताए । आफूलाई बदनाम गर्न राजावादी भएको समेत प्रचार गरिएको उनले बताए ।

उनले देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने अठोट व्यक्त गरे । देशको आवश्यकता भए वैकल्पिक शक्ति निर्माण गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने उनले जिकिर गरे ।