|  

एमाले कार्यकर्ताको माध्यमबाट वामपन्थी ध्रुवीकरणको तयारीमा छ : शंकर पोखरेल

२७ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद् दाङ र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा शनिबार घोराहीमा भएको अन्तरसंवाद कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताए ।
महासचिव पोखरेलले एमालेले वामपन्थी ध्रुवीकरणको मुद्दालाई प्राथमिकतामा राखेको र राष्ट्रिय शक्ति निर्माणका लागि काम गरिरहेको बताए । इतिहासबाट शिक्षा लिने र भविष्यको यात्रा तय गर्नुपर्ने भन्दै उनले कार्यकर्ताको माध्यमबाट ध्रुवीकरण गर्न एमालेको तयारी रहेको बताए ।

एक अर्को प्रसंगमा महासचिव पोखरेलले ‘बिआरआई सम्झौता’ बाट नेपालले नयाँ मान्यता स्थापित गरेको दाबी गरे ।
‘बिआरआई सम्झौताको मस्यौदा नेपाली कांग्रेस र एमालेको सहमतिमा गरिएको हो’ उनले भने, ‘नेपालको इतिहासमै पहिलोपटक नेपाल आफैंले तयार पारेको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।’

कांग्रेस-एमाले गठबन्धनपछि प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुने देखिएको उनले बताए । ‘यसले प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुँदोरहेछ भन्ने प्रमाणित भएको छ’ उनले भने, ‘मुलुकको समृद्धि र स्थायित्वका लागि गठन भएको प्रमुख पार्टी सम्मिलित यो सरकार निश्चित उद्देश्य पूरा गर्नतर्फ अग्रसर छ ।’