२७ पुस, काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाट नै खतरामा रहेको बताएका छन् ।
सांसद श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीको सातौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै सिंहदरबारमा बस्नेहरुबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको चार पिल्लरको रूपमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी-समानुपातिकता रहेको भन्दै कुनै एक पिल्लर ढलेमा गणतन्त्ररुपी घर पुरै ढल्ने बताए ।
उनले आफुलाई मन परेको पिल्लर मात्र ठाडो राख्न लागेमा संघीय लोकतान्त्रिक गणतन्त्र ठाडो रहन नसक्ने बताए ।
सांसद श्रेष्ठले संघीयता बिरोधीहरूले दाबी गरेजस्तो आर्थिक रूपमा संघीयता सेतो हात्ती नभएको जिकिर गरे । उनले संघीयता आउनु अघि राज्यको केन्द्र, विकास क्षेत्र, अञ्चल, जिल्ला, इलाका र गाबिस-पालिका गरी ६ वटा निकाय रहेको उल्लेख गर्दै आज संघ, प्रदेश र स्थानीय गरी जम्मा ३ तहमात्रै रहेको बताए । विगतमा झन्डै ४ हजार गाबिस र ३६ हजार वडा रहेकोमा आज ७५३ पालिका र ६,७४३ मात्रै वडा रहेको उनले उल्लेख गरे।
विगतमा जनप्रतिनिधिको संख्या झन्डै २ लाख रहेपनि आज भने राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको संख्या झन्डै ३८ हजार मात्र रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले संघीयता आर्थिक रूपमा बोझ नभएको स्पष्ट पारे ।
उनले धर्मनिरपेक्षताको अर्थ नागरिकको धार्मिक स्वतन्त्रताको उच्च सम्मान हो भन्दै राज्यको धर्म नहुने तर नागरिकको आ–आफ्नो व्यक्तिगत आस्थाको आधारमा धर्म हुने बताएका बताए ।
सांसद श्रेष्ठले नेपालजस्तो १४२ जातजाति र १२४ मातृभाषी भएको एक सुन्दर इन्द्रधनुषी राष्ट्रिय राज्यमा समावेशी -समानुपातिकता अनिवार्य रूपमा आवश्यक भएको पनि बताए ।