|  

आज सातै प्रदेशमा वर्षाको सम्भावना

२८ पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ।कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक / दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक / दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।