|  

शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो

२८ पुस, काठमाडौं ।  पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ ।

प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो । यो घटना गत मंसिर १८ गतेको भए पनि प्रहरीमा ढिलोमात्रै उजुरी परेपछि सार्वजनिक भएको हो । पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ ।अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मंसिर १८ गते कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन् । त्यहीक्रममा बालक प्रशान्तको आँखामा चोट लागेको विद्यालयले जनाएको छ ।

त्यसपछि विद्यालयले नै प्रशान्तलाई नजिकैको गोपीगञ्ज बजारमा उपचारका लागि लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकहरुले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्‍याए । तर चिकित्सकले बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बतायो ।