२८ पुस, काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले आगलागीबाट प्रभावित अमेरिकाको लज एन्जलसको क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल एक्स मार्फत मस्कले निःशुल्क स्याटलाइट इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका हुन् । मस्कको निर्देशनपछि शुक्रबार बिहानदेखि आगलागीबाट प्रभावित क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट सेवा उपलब्ध भइसकेको छ ।
मस्कको यस पहलले सङ्कटको समयमा स्थानीय बासिन्दा र आपतकालीन उद्धारकर्मीलाई भरपर्दो इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने बताइएको छ ।
क्यालिफोर्नियाको डढेलोको प्रत्यक्ष प्रसारण गर्नका लागि सञ्चार माध्यमले स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट प्रयोग गरेको देखिएपछि मस्कले आपतकालीन अवस्थामा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।