|  

न्यायाधीश अधिकारीको इजलासमा रविको बयान सुरू

२८ पौष, काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहितको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा सुरु भएको छ ।

उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ । गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो । सो सहकारीबाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

पोखराको सूर्य दर्शन सहकारी ठगीमा कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका लामिछाने गत बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेश अनुसार बिहीबार राती परिवारको साथमा छुटेका थियो । सो सहकारीमा मुछिएका सातै जनालाई धरौटी माग गरिएको थियो । कास्कीबाट छुटेका रविविरुद्ध अब काठमाडौंसहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ ।