२८ पुस, काठमाडौं । कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको युक्रेनी सेनाले दाबी गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनालाई उद्धृत गर्दै रूस र युक्रेनबीच जारी द्वन्द्वबीच कुर्स्क क्षेत्रमा दुई जना उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको बताएका हुन् । युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हाम्रा सैनिकहरूले कुर्स्क क्षेत्रमा उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ गरेका छन् ।
उनीहरू घाइते अवस्थामा रहेको र उनीहरूलाई आवश्यक अनुसन्धानका लागि किभ लगिएको छ । उनीहरूले अहिले युक्रेनी सुरक्षा निकायसँग कुराकानी गरिरहेका छन्।’ युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले युक्रेनको ‘स्पेशल अपरेशन फोर्सेज’को ट्याक्टिकल ग्रुप नम्बर ८४ का सैनिक र प्याराट्रूपर्सले उत्तर कोरियाली सैनिकलाई सफलतापूर्वक कब्जा गरेकोमा आभार व्यक्त गरे ।
युक्रेनी र पश्चिमी आँकलनअनुसार, युक्रेनी सेनाले अगस्त २०२४ मा सीमापार आक्रमण गरेपछि धेरै भूभाग कब्जा गरेको कुर्स्कमा करिब ११ हजार उत्तर कोरियाली सैनिकहरूलाई तैनाथ गरिएको छ । यसअघि युक्रेनी सेनाले रूसका लागि लडिरहेका उत्तर कोरियाली सैनिकहरूलाई रूसी नाम र जन्मस्थानसहितको नक्कली सैन्य कागजात दिइएको बताएको सन् २०२४ डिसेम्बर २२ मा अमेरिकी समाचार संस्था सीएनएनले जनाएको थियो ।