२८ पौष, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संसद् अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरेका हुन । उनले आफू सभामुख हुँदा र अरू बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भए पनि अहिले यति ढिलो किन गरेको ? भन्दै प्रश्न गरे।
उनले संसद् अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताए । उनले संसद् कुनै पनि देशको महत्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे। उनले संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसदलाई बन्द गर्न नहुने बताए ।