|  

स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहियोः बालेन 

 २८ पुस, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका छन् ।अहिलेको अवस्थामा प्रदेश सरकारबाट यस्तो आभास हुन नसकेको उनले बताए ।

आइतबार बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालसँगको भेटमा शाहले भने, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो ?  सुकुम्वासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनः स्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ ?  स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’

यता प्रमुख सचिव डा.लम्सालले, प्रदेश र स्थानीय सरकारका बिचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरे । उनले भने, ‘प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु । राजनीतिक संवादका लागि वातावरण मिलाउँछु ।’