२८ पौष, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा रहेको सहकारी ठगीसम्बन्धी मुद्दामा आज बहस नहुने भएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएपछि रविका कानुन व्यवसायी र न्यायाधीशबीच केहीबेर सवालजवाफ चलेको थियो । रवि पक्षधर कानुन व्यवसायीले बहस नसकिए न्यायिक हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा लगाउन माग गरेका थिए । रविका तर्फबाट कानुन व्यवसायीहरू सुशील पन्त र रमन श्रेष्ठ इजलासमा थिए । उनीहरूले रवि ‘भागेको वा प्रहरीले खोजिरहेको अभियुक्त होइन, हाम्रै वा परिवारको जिम्मा लगाइदिन’ आग्रह गरेका थिए । तर न्यायाधीश अधिकारीले भने इजलासले सबैलाई समान व्यवहार गर्नुपर्ने, कसैलाई छाड्ने र कसैलाई थुन्ने आदेश गर्न नसक्ने बताएका थिए । रविले पनि बहस आजै सकिदिन वा नभए परिवारको जिम्मा लगाइदिन आग्रह गरेका छन् ।
रविलाई थुनामा पठाउने कि कसैको जिम्मामा छाड्ने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आज काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका थिए ।