२८ पौष, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मन्त्रालयमा स्पष्टीकरणको जवाफ पेस गरेका छन् ।
गत सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ उनले मन्त्रालयमा पेस गरेका हुन । उनले पेस गरेको स्पष्टीकरणमा मन्त्रिपरिषद्को २५ साउन २०७८ को निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम ४ वर्षको कार्य अवधिका लागि कार्यसम्पादन सम्झौता बमोजिम सेवाको सर्त लगायतका व्यवस्था उल्लेख गर्ने गरी मन्त्रालयको २७ साउन को पत्रमार्फत नियुक्त भएको स्मरण गराएका छन ।
त्यस्तै उनले कार्यसम्पादन सम्झौतामा तोकिएका आधारमा वस्तुगत र निष्पक्ष रूपमा अनुगमन तथा मूल्याङ्कन गरी मूल्याङ्कित कार्यसम्पादन विवरण समेतका आधारमा कार्यकारी निर्देशकले प्रोत्साहन भत्ता लगायतका सुविधा प्राप्त गर्ने व्यवस्थाबारे पनि सरकारलाई अवगत गराएका छन । कुलमानले २२ असोज २०८१ को पत्र मार्फत यस मन्त्रालयले माग गरेका ट्रान्सफर्मर खरिदमा व्यापक अनियमितता भएको गुनासो लगायतका १५ बुँदे विवरणहरू तोकिएको समयभित्र उपलब्ध नगराउनु भएन र पछि ४ मंसिर २०८१ को पत्र साथ सो मध्येका विवरणहरू उपलब्ध गराउँदा पनि अधिकांश विवरणहरू आफैमा अपुरो र वास्तवमा खोजे मागे भन्दा बाहिर गई सोधिएको बताएका छन ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोध्दै फेरि पदबाट हटाउने सङ्केत गरेको थियो । मन्त्रालयका सचिव सुरेश आचार्यले सात दिनभित्र चित्तबुझ्दो जबाफ पेस नगरे घिसिङको नियुक्ति अन्त्य गर्ने चेतावनीसहितको स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण पत्रको पहिलो बुँदामा उनीसँग भएको कार्यसम्पादन सम्झौताबारे स्मरण गराइएको थियो । यस्तै, ट्रान्सफर्मर खरिदमा व्यापक अनियमितता भएको गुनासो लगायतका १५ बुँदे विवरणहरू तोकिएको समयभित्र उपलब्ध नगराएको र अधुरो विवरण उपलब्ध गराएको आरोप लगाइएको थियो ।