२८ पौष, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा एमडी, एमएस र एमडीएस मात्रै गरेका डाक्टरले आवेदन दिन नपाउने भएका छन् ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको छ । उक्त कार्यविधिले मेडिकल चिकित्सामा एमडी, एमएस र एमडीएस गरेका चिकित्सकलाई आवेदन दिन रोकेको छ । यसको खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए । तर, आज अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा असहमति जनाउँदै डाक्टरहरू अदालत गएका थिए ।
चिकित्सामा डीएम वा सो सरहकाले भने आवेदन दिन पाउनेछन् । उपकुलपतिका लागि आवेद दिने समय पनि आज सकिएको छ । माघ १८ गते १० दिनको म्याद दिएर आवेदन खुलाइएको थियो । उपकुलपति प्रा.डा भोला थापाको ४ वर्षे कार्यकाल माघ ६ देखि सकिँदैछ ।