२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले सरकारले अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् ।
उनले संसद् हुँदाहुँदै किन र के कारणले अध्यादेश ल्याउनु परेको हो ? भन्दै सामाजिक सञ्जालमार्फत भण्डारीले अध्यादेशको विरोध गरेका हुन् ।
उनले लेखेका छन्–
‘हामीले लामो संघर्ष गरी प्राप्त संसदीय व्यवस्था विधिको शासन ,पारदर्शिता र सुशासनका लागि थियो। त्यस कारण हामीले संसद्को कल्पना गरी जनताबाट निर्वाचित जनप्रतिनिधिबाट मुलुक चलाउने व्यवस्थालाई हामीले पालन गरेका हौं । देशलाई आवश्यक पर्ने कानुन नीति निर्माण व्यवस्थापिका सांसदबाट हुन्छ । संसद जीवित हॅुदाहॅुदै के कति कारण अध्यादेशको आवश्यकता पर्यो ? संसदको विश्वास भएन कि संसदीय व्यवस्थाप्रति विश्वास टुट्यो ? के हामी सांसदलाई मृत घोषणा गरिएको हो, त्यो पनि भएको छैन हामी सांसद र संसद कृतघ्न पनि छैन / छैनौं !!! तसर्थ जोसुकैले जुन उद्देश्यका लागि गरे पनि यो कदापि क्षम्य हुँदैन । यो संसदीय व्यवस्थाको विरोधी काम हो र संसद्को अपमान पनि !’
सरकारले शुक्रबार राती विभिन्न कानुनको संशोधन गर्न तीन अध्यादेश ल्याएको थियो । गत भदौमा सकिएको संसदको बजेट अधिवेशनपछि अहिले पुस महिना सकिन लागेको अवस्थामा पनि सरकारले संसदको अधिवेसन नबोलाएको र अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ ।