२८ पुस, काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका-७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको बाघको आक्रमणबाट मृत्यु भएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले थापालाई आक्रमण गरी जंगलभित्र पुर्याएको थियो ।
घटनापछि स्थानीयवासी, प्रहरी, सेना, र निकुञ्जको टोली घटनास्थलमा पुगेका थिए । टोली पुगेपछि बाघ शवलाई छाडेर जंगलतर्फ भागेको बताइएको छ । यद्यपि, स्थानीयवासीले बाघ नियन्त्रण र उचित क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन अस्वीकार गरेका छन् ।
बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाइएको छ । घटना सामुदायिक वन क्षेत्रमा भएकाले क्षतिपूर्ति दिने प्रक्रिया अझै अन्योलमा रहेको जनाइएको छ ।
गएको साउनयता बर्दियामा हात्ती, गैँडा र पाटे बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख अजित तुम्बाहाम्फेका अनुसार यस क्षेत्रका वन्यजन्तु र मानवीय क्रियाकलापबिचको बढ्दो संघर्षले जनजीवनलाई त्रसित बनाएको छ ।