|  

माओवादीको पदाधिकारी बैठक आज बस्दै

२८ पौष, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दिउँसो २ बजे बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ । केन्द्रीय समिति बैठकपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागिएको हो ।

आजको बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने नेताहरूले बताएका छन । यस्तै बैठकले हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित सञ्चालन गर्ने, विचार मिल्ने वामपन्थी दलहरूसँग एकताको निम्ति उच्चस्तरीय संवाद समिति  गठन गर्ने, माघ १ गते सम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।

यसैगरी अवकाश प्राप्त विद्यार्थी नेताहरूलाई पार्टीको विभिन्न कमिटीहरूमा व्यवस्थापन गर्ने, पदाधिकारीदेखि सबै नेताहरूको सम्पत्ति विवरण पार्टीमा बुझाउने र पार्टीको लेखा आयोगले अनुगमन गर्ने निर्णय गरेको थियो ।