|  

विपिन सकुशल फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्र मन्त्री देउवा

२८ पौष, काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास ब्यक्त गरेकी छन् ।

आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले विपिन सकुशल फर्केर आउनेमा आफु ढुक्क रहेको बताएकी हुन् । जोशीको रिहाइका लागि पहल भइरहेको उनले जानकारी दिइन् । उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन् ।

उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन यसअघि नै आग्रह गरेकी थिइन । सन २०२३ को अक्टोबरमा इसरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन् । जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास गर्दै आएको छ ।