|  

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

२९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ ।

त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने छ । समिति बनाएर काम सुरु गरेका छौँ,’ उनले भने, ‘तथ्यांक संकलन भएपछि नफर्किनेलाई कारबाही हुन्छ ।’

०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । तर, यसको रेकर्ड त्रिविसँग छैन । १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् ।  यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन छैन ।

विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।