२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन् ।
सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । त्यो अध्यादेश मध्यरातमा जारी गरियो भनेर पनि हल्ला गरियो । त्यो अध्यादेश त हामीले दिउँसै तयार गरेको हौँ ।’ उनले पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलिने काम भएको बताउँदै त्यस्तो कार्य रोकिनुपर्नेमा जोड दिए । आफूविरुद्ध स्विस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको बताउँदै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए ।
प्रधानमन्त्री ओलीले भने– ‘पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढेको छ । स्विस बैंकमा मेरो पैसा छ भन्ने गलत हल्ला चलाइयो । त्यो छानबिन गर्ने हो भने सरकारी स्तरबाटै पनि छानबिन गर्न तयार छु । त्यसका लागि समिति नै बनाउन तयार छु । त्यसरी हल्ला फैलाउने काम गर्नु गलत हो । यस्ता विषयमा पत्रकारहरू पनि सचेत हुनुपर्छ ।’