२९ पुस, काठमाडौं । अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य हवाई आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।
एक पाइलटले स्थानीय जनताको सुरक्षा बललाई गल्तीले आपराधिक गिरोह ठानेर प्रहार गर्दा १६ सर्वसाधारणको मृत्यु भएको हो । नाइजेरियाली सेनाले लामो समयदेखि यस क्षेत्रमा आपराधिक गिरोहसँग लड्दै आएको छ । यी लडाकुहरूले गाउँहरूमा आक्रमण गर्छन्, फिरौतीको लागि मानिसहरूलाई अपहरण गर्छन् र उनीहरूको घर जलाउँछन् ।
जसका कारण यहाँका सर्वसाधारणले पनि आत्मरक्षाका लागि बन्दुक लिएर अपराधीलाई इलाकाबाट धपाउने गरिरहेका हुन्छन् ।शनिबार पनि जाम्फाराको डांगेबे गाउँमा लुटेराले आक्रमण गरी धेरै जनावरहरू लुटेका थिए ।
यसपछि गाउँलेहरूले उनीहरूलाई बन्दुकले आक्रमण गरेका थिए । र, उनीहरूलाई लखेटेर फर्कँदै गर्दा टुङ्गर कारा गाउँ नजिकै उनीहरूमाथि लडाकु विमानले गोली प्रहार गरेको हो ।