|  

रवि लामिछानेको हिरासत बसाइ लम्बियो

२८ पौष, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी आराेपमा पक्राउ परेका रवि लामिछानेको थुनछेक बहस नसकिएपछि हिरासतमै फर्काइएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ । अब पर्सि अदालतमा उपस्थित गराउन प्रहरीलाई भनेको छ । उनलाई आइतबार पनि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको छ । मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले रवि पक्षका कानुन व्यवसायीले अब पर्सि बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।कालिमाटीमा मुख्य कार्यालय रहेको यस सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ मा मुद्दा दायर भएको थियो । यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन् ।

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका थिए । आइतबार बयान भए पनि बहस हुन सकेको थिएन ।