२९ पुस, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् ।
सोमबार फास्टफुड एसोसियसन नेपालको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सबैभन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताएकी हुन् ।
डंगोलले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैँ ट्याक्समात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउँछ, कानूनमा मात्र बसाल्छ भन्ने लाग्न सक्छ । तर, स्थानीय सरकार भनेको जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभाष गराउनु पनि महत्त्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं महानगरपालिकाले फास्टफुडकै कम्पनीहरूसँग आबद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौँ ।’
यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैँ तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरूलाई प्रोत्साहन समेत गर्ने बताइन् ।