१ माघ, काठमाडौं । एलन मस्कको एआई प्लेटफर्म ग्रोकले एक किशोरीको हात भाँचिएको पहिचान गरिदिएको घटना बाहिर आएको छ ।
चिकित्सकले पत्ता लगाउन नसकेको किशोरीको हात भाँचिएको समस्या एआईले पत्ता लगाएको भन्दै चर्चा भइरहेको हो । सामाजिक सञ्जाल एक्समा एजे के नाम राखेकी एक अमेरिकी महिलाले लामो ब्लग लेख्दै यस घटनाको बेलीविस्तार लगाएकी छिन् । उनका अनुसार गत साता उनीहरू कार दुर्घटनामा परेका थिए ।
त्यतिबेला उनीहरूलाई गम्भीर चोट लागेको थिएन । तर, यता किशोरी भने हातमा चोट लागेको भएर त्यसैको दुखाइ सहिरहेकी थिइन् । किशोरीले हात धेरै दुखेको गुनासो गरेपछि उनीहरू उपचारका लागि अस्पताल गए । एक्स(रे गरेपछि चिकित्सक र रेडियोलोजिस्टले किशोरीको कुनै हड्डी नभाँचिएको बताए ।
त्यसपछि दुखाइ कम गर्ने औषधी र पट्टी बाँधेर किशोरीलाई घर पठाइयो । तर, छोरीको दुखाइ झन् बढ्दै गएपछि आमालाई थप चिन्ता लाग्यो । किशोरीकी आमाका अनुसार उनको नाडी असामान्य देखिन्थ्यो । हात चिसो र झमझम भएको थियो भने किशोरीले आफ्नो बुढी औंला चलाउन सकिरहेकी थिइनन् ।
ती महिलालाई शङ्का लाग्यो र आफैँ थप अनुसन्धान गर्न थालिन् । त्यसका लागि उनले एलन मस्कको एआई च्याटबट ग्रोकसँग कुरा गर्न थालिन् । कुरा गर्दै जाँदा उनले एक्स–रे र अन्य कागजात उक्त च्याटबटलाई उपलब्ध गराइन् । त्यसपछि उनले एआईलाई केही असामान्य भएको पत्ता लगाउन आग्रह गरिन् । ग्रोकले तुरुन्तै डिस्टल रेडियस (नाडी)को हड्डी भाँचिएको भेटायो ।
त्यसपछि एआईले ग्रोथ प्लेट (हाडको जोर्निमा हुने मोटो भाग)लाई भाँचिएको ठानेको हो कि भनेर उनले थप प्रश्न गरिन् । ग्रोकले पहिलेकै भनाइ दोहोर्याउँदै हात भाँचिएको स्पष्ट देखिन्छ भन्ने बतायो ।त्यसपछि आमाले नाडी विशेषज्ञसँग परामर्श गरिन् । ग्रोकले पहिचान गरेको कुरा सत्य भएको डाक्टरले पनि पुष्टि गरे ।
ग्रोकको सहयोगले गर्दा किशोरीको नाडी तुरुन्तै प्लास्टर गरियो ।महिलाले एआईको क्षमतामा पहिले शङ्का गरेको भए पनि ग्रोकले दिएको सुझावप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।