०१ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ ।
गय रातिदेखि कार्यालयको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेको हो । ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू चित्रा’ लेखिएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले डिजिटल बोर्ड रिकभर गर्न अझै समय लाग्ने बताए ।
कार्कीका अनुसार प्रहरीले अहिले बोर्ड रिकभर गर्ने काम सँगै ह्याक गर्ने व्यक्ति खोजिरहेको छ । ह्याकरले डिजिटल बोर्डको कन्टेन्ट मेनेजमेन्ट सिस्टममा एक्सेस पाएर परिवर्तन गरेको आशङ्का गरिएको छ । त्यहीँबाट विभिन्न माध्यम प्रयोग गरी ह्याक गर्ने व्यक्तिसम्म पुग्न प्रहरी प्रयास गरिरहेको छ । ह्याक गर्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अगाडि बढाइने कार्कीले बताए । पछिल्लो समय यस्ता डिजिटल बोर्ड ह्याक गर्ने घटना अत्यधिक बढेका छन । हालै मात्र महानगरीय ट्राफिक प्रहरी वृत्त ललितपुरको ललितपुरको बोर्ड ह्याक भएको थियो ।