|  

मुलुकको समृद्धिका लागि क्रियाशील हुन पर्वले उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास

१ माघ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेको शुभकामना सन्देशमा उनले राष्ट्रियता र परस्पर भ्रातृत्व, अपनत्व फैलाउन यस्ता मौलिक पर्वले सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

यसै अवसरमा पूर्व प्रधानमन्त्री झालनाथ खनालले आजै जारी गरेको शुभकामना सन्देशमा बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक हाम्रो मुलुकमा विभिन्न समुदायले मनाउने मौलिक चाडपर्वले एकापसमा भ्रातृत्व, पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।