१ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको आधारका रूपमा रहेको बताएका छन् ।
नेपाली बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेकाले विदेशी मुद्रा आर्जनमा पनि यो क्षेत्र उपयोगी रहेको उनको भनाइ छ ।
काठमाडौँ गोकर्णेश्वर नगरपालिकामा मंगलबार ‘११औँ तारेभीर महोत्सव’ उद्घाटनमा उनले ग्रामीण क्षेत्रमा रहेका पर्यटन गन्तव्यसम्म पूर्वाधार विस्तार गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए ।
मौलिक पर्यटन गन्तव्यसम्म सडक एवं पूर्वाधार विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिने मन्त्री दाहालको भनाइ छ ।