|  

आज विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइँदै

२ माघ, काठमाडौं ।  आज भूकम्प दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । १९९० को भूकम्पमा परी नेपालमा आठ हजार ५१९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो भने ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए ।

यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पमा आठ हजार ६७० जनाको मृत्यु भएको थियो । जसकारण सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो । गत वर्षको कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको छ ।

उक्त भूकम्पमा परी १५३ जनाको मृत्यु भएको थियो । त्यसो त विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम संख्यामा छन् । तर अहिलेको पुस्ताले बेहोरेको भूकम्प पनि त्योभन्दा कमजोर भने छैनन् ।

त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले समेत काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाइदियो । जसकारण योवर्षको भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारीरुपमा मनाउने तयारी भइरहेको छ ।