०२ माघ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको बताएका छन् ।
भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन । मुन्धुम पदमार्ग कोशी प्रदेशको पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको आफूले पाएको उनको भनाइ छ । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले उल्लेख गरे ।
भोजपुर र खोटाङको सीमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट सुरू हुने पदमार्ग ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, चार हजार १५५ मिटरको सिलिचुङ डाँडा हुँदै तीन हजार ७५० मिटरको साल्पापोखरीसम्म पुग्छ । मौसम सफा भएको बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका आठ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाइ क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको बताए । नेपालको आवश्यकता अनुसार जहाजहरू नभएकाले जहाजको संख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति विनोद वान्तवाले मुन्धुम पदमार्ग भ्रमण वर्षको कार्यक्रमले पदमार्गको प्रचारप्रसारमा उल्लेख्य योगदान गर्ने बताए ।