०२ माघ, काठमाडौं । आफ्ना पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीहरूलाई रवि लामिछानेले कम बोल्न आग्रह गरेका छन् ।
बहस लम्बिँदै गएपछि रविले आफ्ना कानुन व्यवसायीलाई भनेका छन्, ‘अब बोल्ने काम एकदम कम गरौँ, एकदम छोटो ।’ स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका आरोपि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । आज बिहानैदेखि रविका पक्षबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन । उनका पक्षबाट अहिलेसम्म वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गरेका छन । अब सुरज बस्नेतलगायत केही कानुन व्यवसायीको बहस बाँकी नै छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो। थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो। बहस लम्बिँदै जाँदा उनको हिरासत बसाइँ लम्बिँदै गएको छ ।
रविका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन । त्यसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भनेर आदेश गर्नेछन् ।