२ माघ, काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछाने पक्षका वकिलको बहस सकिएको छ । बुधबार लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका छन् ।
काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको थियो । पहिलो दिन आइतबार लामिछानेको बयान भएको थियो भने सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले बुधबार फेरि बहस भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भइरहेको छ । अब जाहेरवालाका तर्फबाट बहस हुनेछ ।
त्यसपछि फेरि सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस हुनेछ । बहस सकिएपछि धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ । यसअघि लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।