|  

इजरायलले गाजामा गरेकाे आक्रमणमा २४ जनाको मृत्यु

०२ माघ, काठमाडौं । इजरायली सुरक्षा बल (आडीएफ) ले गाजा क्षेत्रमा आक्रमण पुनः तीव्र पारेको छ ।

अल जजिराका अनुसार आडीएफले विस्थापितहरूले आश्रय लिइरहेका विद्यालय तथा गाजा पट्टीका घरहरूमा हवाई आक्रमण गरेको हो । आइतबार बिहानैदेखि गरिएको आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । गाजामा युद्धविरामका लागि भइरहेको वार्ता निस्कर्षमा पुग्नै लागेको समाचार सार्वजनिक भइरहेका बेला इजरायलले आक्रमण तीव्र पारेको हो । अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा मंगलबार भएको युद्धविराम वार्तामा सहमति जुटिसकेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल-फताह अल सिसीले इजरायल र हमासलाई युद्धविराम सम्झौता टुंग्याउन संयुक्त आह्वान जारी गरेका छन् ।

प्यालेस्टानी समूह हमासले सन २०२३ अक्टुबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको हो । उक्त आक्रमणमा कम्तीमा १२ सयको ज्यान गएको थियो ।