०२ माघ, काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने भएको छ ।
आज नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने, ‘निर्णय तीन वटा छन । आजको बैठकमा समाजवादी मोर्चाले गम्भीर समीक्षा गरेको छ । आगामी माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौँ भन्ने हामीले निर्णय गरेका छौँ । अब त्यो कार्यक्रम सम्पन्न भयो भने जति प्रश्न छन त्यसको यो कार्यक्रमले उत्तर दिने छ । र सकारात्मक सन्देश समेत दिने छ ।’
त्यस्तै,बैठकले आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने समेत निर्णय गरेको छ । विश्वकर्माले मोर्चाको अवधारणालाई अझै व्यवस्थित हिसाबले अगाडि बढाउने जानकारी दिदै भने, ‘मोर्चा बन्दै गर्दा देशैभर कम्युनिष्ट, प्रगतिशीलप्रति आम जनतामा उत्साह थियो । यसैले सशक्त रूपमा मोर्चा अगाडि बढोस् भन्ने थियो । तर, दलहरूका आन्तरिक विषय, माओवादी सरकारको नेतृत्व गर्नुपर्दाको कारण गति धिमा भयो भनेर समीक्षा गर्यौं । तर, अब आगामी दिनमा यस्तो हुन नदिने गरी लाग्नुपर्छ भन्ने भयो । यसका लागि समाजवादी मोर्चाका कामको संश्लेषण गरेर प्रतिवेदन तयार गर्ने कुरा भएको छ । यसै प्रतिवेदनमार्फत आगामी कार्यक्रमको प्रस्ताव तयार गर्छौं ।’