|  

 रिहा भएपछि रविले भने– न्याय मरेको छैन, सबैलाई धन्यवाद 

२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको टिप्पणी गरेका छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडाैंको आदेशबमोजिम ६० लाख रुपैयाँ धराैटी बुझाएर रिहा भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले अदालतप्रति सम्मान रहेकाे बताए ।

उनले भने, 'यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।' रविको ६० लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पूरा गरेर साँझ ७ बजे लामिछाने थुनामुक्त भएका हुन् ।

यसअघि उनलाई जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको सहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।