|  

आज चारवटा समितिको बैठक बस्दै

३ माघ, काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी  बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।

यता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।