३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूसँग आज सामूहिक छलफल गर्दै छन् ।
सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि सभापति देउवाले मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका छन् । छलफल बिहान ९ बजे हुनेछ ।
देउवाले सरकारका कामलाई प्रभावकारी बनाउन यसअघि पनि निवासमा बोलाएर मन्त्रीहरूसँग छलफल गरेका थिए ।
पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको काम प्रभावकारी बनाउन र समन्वय गर्नेगरी गत भदौदेखि दुई / दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो ।