|  

ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

३ माघ, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन् ।

गत शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित पाँच अध्यादेश ल्याउने निर्णय गरेको थियो । ती अध्यादेश आइतबार बिहान राष्ट्रपति कार्यालय पुगेकोमा सोमबार अपराह्न राष्ट्रपतिले चार वटा अध्यादेश जारी गर्दै भूमिसम्बन्धी अध्यादेश ‘होल्ड’गरेका थिए।

भूमिसम्बन्धी अध्यादेशका केही व्यवस्थाले सार्वजनिक जग्गा दुरूपयोग हुन सक्ने देखिएकोले अध्ययनकै क्रममा राखेका थिए । तर ओलीले अध्यादेशमा त्यस्ता जग्गा सरकारले एक पटकका लागि वितरण गर्न सक्ने व्यवस्था राख्ने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेको स्रोतको भनाइ छ।