|  

खो-खो विश्वकपमा नेपालको विजयी यात्रा तेस्रो खेलसम्म जारी 

०३ माघ, काठमाडौं । नेपालले भारतमा जारी खो-खो विश्वकपमा महिलातर्फ आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि जारी नै राखेको छ ।

आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा समूह ‘सी’ अन्तर्गतको नेपालले श्रीलंकाविरुद्ध ११०-१० को सानदार जित हात पारेको हो । जितसँगै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट ६ अंक जोडेको छ । नेपालले यसअघि जर्मनीलाई ७३-३४ र भुटानलाई ९३-२४ ले पराजित गरेको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ ।

पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ । महिलातर्फ समूह ‘सी’ मा नेपाल र श्रीलंकासँगै बंगलादेश, भुटान र जर्मनी छन्। महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार-चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।