|  

देउवाले लिए सरकारमा सहभागी मन्त्रीको कार्य प्रगतिबारे जानकारी

०३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् ।

आज बिहान बुढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् । हालसम्म ३ जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
उनले मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उल्लेख गरे । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिएका छन् ।  उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरूले सुझाव पनि दिनुभएको छ ।’ उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए ।