०३ माघ, काठमाडौं । इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने समझदारी भएको भनिएको छ ।
कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार सम्मेलनमा गाजा पट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्धविराम आइतबारदेखि लागू हुने बताएका छन ।
मध्यस्थताकर्ताहरूले सम्झौता भएको बताएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सम्झौताका ‘अन्तिम बिषयमा’मा काम भइरहेको बताएको छ । नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरी सम्झौतामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सन २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा बन्धक बनाइएकाहरूलाई फिर्ता ल्याउनका लागि यो सम्झौता ‘सही कदम’ भएको बताएका छन् ।
यसैबीच बाइडेनले यो दिन आएकोमा आफू निकै सन्तुष्ट रहेको बताउँदै वार्तालाई आफ्नो करियरको ‘सबैभन्दा कठिन’ भएको बताएका छन् । उनले दोस्रो चरणको सम्झौताले ‘युद्धको स्थायी अन्त्य’ गर्ने बताउँदै सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताए ।